कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रनको सहयोगमा भीमदत्त नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १३ का ६५ जना गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सामूदाय आधारित अग्रीम प्रतिकार्य सहजकर्ता (सीबीएएएफ) हेमन्ती महरले भीमदत्त नगरपालिकाका बाढी प्रभावित वडाका १३/१३ जना गरि ६५ जना गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले छनौट भएका परिवारलाई डिग्निटी किट, हाईजिन किट, टुथ पेस्ट, नुहाउने साबुन, लुगा धुने साबुन, बाल्टी/ढक्कन र झुल वितरण गरिएको बताउनुभयो। उहाँले गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि पाँच जना सहजकर्ताहरूले उनिहरूको घरमै गएर सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो।
सीबीएएएफ जयन्ती उपाध्याय पन्तले गत तीन महिनाको अवधिमा बाढी प्रभावितहरूलाई परामर्श दिने क्रममा भेटिएका आर्थिक रूपमा अति विपन्न परिवारका गर्भवती, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई छनौट गरि सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले बाढी प्रभावितहरूको घर-घरमा गएर सहयोग गर्न पाउँदा निकै खुसि लागेको बताउँदै वितरण गरिएको सामग्रीले गर्भवती, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा सरसफाईमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो।
भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रामबहादुर बोहराले गत असार र भदौमा आएको बाढीबाट भीमदत्त नगरपालिका वडा नम्बर १३ सँगै ९, १०, ११ र १२ का धेरै परिवार प्रभावित भएको बताउनुभयो। उहाँले गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरू बाढीजन्य विपदको उच्च जोखिममा रहेको अवस्थामा उनिहरूका लागि आवश्यक सामग्री सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लाई धन्यवाद दिनुभयो।
एनएनएसडब्ल्यूएले यसअघि दोधारा चाँदनी नगरपालिकाका दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती तथा सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा आवश्यक सामग्री हस्तान्तरण गरेको थियो।
एनएनएसडब्ल्यूएले कञ्चनपुरमा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री, विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि शैक्षिक सामग्री साथै प्रभावित परिवारलाई नगद सहयोग निरन्तर रूपमा गर्दै आएको छ। साथै बाढी पश्चात् देखापर्ने डेङ्गी तथा झाडापखाला जस्ता समस्याहरूको समाधान र बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिका कारण परेको तनावलाई कम गर्न परामर्श प्रदान गर्दै आएको छ।