Breaking News

मुडा व्यवसाय फस्टाएसँगै बाँसका अन्य हस्तकला सामग्रीमा आकर्षित महिला

कञ्चनपुरः मुडा व्यवसाय फस्टाएर राम्रो आम्दानी हुन थालेसँगै कञ्चनपुरका दलित महिला बाँसबाट उत्पादित अन्य हस्तकला सामग्रीतर्फ आकर्षित भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित कठेपुल अमरज्योती दलित कृषक महिला समूहले डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा मुडा उद्योग सञ्चालन गर्दै आएको छ। मुडा व्यवसायबाट राम्रो आम्दानी हुन थालेसँगै कठेपुल अमरज्योती दलित कृषक महिला समूहले अन्य हस्तकला सम्बन्धी तालिमको माग गरेपछि एनएनएसडब्ल्यूएको आर्थिक तथा प्रावाधिक सहयोगमा  पर्यावरणमैत्री बाँसबाट उत्पादित हस्तकला सामग्री निर्माण सम्बन्धी सात दिने तालिम सुरू भएको छ।

तालिममा ११ जना महिलाहरूको सहभागीता रहनेछ। तालिममा बाँसको ऱ्याक, टेबल साथै सजावटका विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाईने छ। यस सात दिने तालिमको प्रशिक्षण हिमाली डंगौराले गर्नुहुनेछ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले स्थानीय स्रोत साधन बाँसको प्रयोगले एकातिर आम्दानीको स्तर बढाउने र अर्कोतिर वातावरणलाई प्रतिकुल असर पार्ने प्लाष्टिकका सामग्रीहरूको प्रयोग घटाउने उद्देश्यले पर्यावरणमैत्री व्यवसाय सञ्चालनका लागि यस तालिमको आयोजना गरिएको बताउनुभयो। मुडा व्यवसायमा महिलाहरूले राम्रो काम गरेको भन्दै उहाँले बाँसका अन्य हस्तकला सामग्री बनाउने सिप सिकेपछि उत्पादनमा मात्र केन्द्रित नभएर उत्पादित वस्तुहरूको बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

  

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले समुदायका महिलाहरूको आय र सोचमा वृद्धि गरि उत्थानशील बनाउने उद्देश्यले यो तालिमको लागि सहयोग गरिएको बताउनुभयो। उहाँले सिप सिकेर व्यवसाय गरि आयस्रोतमा वृद्धि भए मात्र तालिमको औचित्य पुष्टि हुने बताउनुभयो।

कठेपुल अमरज्योती दलित कृषक महिला समूहका अध्यक्ष इश्वरी सार्कीले मुडा बनाउने तालिम सिकेर व्यवसाय सुरू गरेपछि दैनिकी खर्चको जोहो गर्न सहज भएको बताउनुभयो। उहाँले बाँसका अन्य सामग्रीहरू जस्तै ऱ्याक, टेबल, जुत्ता राख्ने ऱ्याक साथै सजावटका विभिन्न सामग्रीहरू निर्माणका लागि तालिमको व्यवस्था गरेकोमा एनएनएसडब्ल्यूएलाई धन्यवाद दिनुभयो।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू

कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *