Breaking News

सामाजिक सद्भावको लागि दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रृङ्खला सञ्चालन हुने

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला सञ्चालन हुने भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०७ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रृङ्खला सञ्चालन गर्ने भएको हो। दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बुको अध्यक्षतामा बसेको बैठकले आउँदो घटस्थापनादेखि रामलिला नाट्य श्रृङ्खला सञ्चालन गर्ने निर्णय गरेको हो।

विगतका दिनहरूमा लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुँदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रृङ्खला यस वर्ष पनि सञ्चालन गरिने भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभयो। उहाँले परम्परागत पर्वकै रूपमा मनाइँदै आएको रामलिलालाई यस वर्ष पनि निरन्तरता दिने तयारी भईरहेको जानकारी दिनुभयो। भगवान रामको चरित्रमा आधारित नाट्य श्रृङ्खलाले सामाजिक सद्भाव र भातृत्व कायम राख्नमा सहयोग पुऱ्याउने उहाँको विश्वास रहेको छ।

वर्तमान समयमा युवाहरूमा बढदै गईरहेको विकृतिलाई कम गर्नमा यस नाट्य श्रृङ्खलाले टेवा पुऱ्याउनेछ। भगवान रामले गरेका त्याग तथा बलिदानबाट सिक्नु पर्ने र सिकाउने उद्देश्यले रामलिला नाट्य श्रृङ्खला सञ्चालन गर्न लागिएको बताईएको छ। लोक संस्कृतिको संरक्षणको लागि सञ्चालन गर्न लागिएको रामलीला नाट्य श्रृङ्खलालाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।

आदर्श रामलिला नाट्य श्रृङ्खलाले साँस्कृतिक साथै सामाजिक गतिविधिले आपसी सद्भाव र एकता मात्र नभई विकास निर्माणमा जुट्न पनि टेवा पुऱ्याउने आदर्श रामलिला नाट्य श्रृङ्खलाका कलाकार टंकलाल जोशीले बताउनुभयो। समाजमा आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा समाजमा भाईचारा तथा सामाजिक सद्भाव जागृत गराउने नाट्य श्रृङ्खलाको मुल उदेश्य रहेको कलाकार टंकलाल जोशीले बताउनुभयो।

१५ दिनसम्म सञ्चालन हुने रामलिला नाट्य श्रृङ्खलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको उनिहरुले बताएका छन्। रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरूलाई देखाएर समाजका विकृति-विसंगती हटाउँदै आदर्शको बाटोमा डोर्‍याउन समेत आदर्श रामलिला नाट्य श्रृङ्खलाले सहयोग पुग्ने विश्वास गरिएको छ।

रात्रिकालिन आदर्श रामलिला नाट्य श्रृङ्खलालाई व्यवस्थित गर्न विभिन्न समिति तथा उप-समिति गठन गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा २०३२ सालदेखि घटस्थापनामा रामलिला सञ्चालन हुँदै आएको छ। तत्कालिन नेकपा माओवादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण केही वर्षहरूमा रामलिला नाट्य श्रृङ्खलाले निरन्तरता पाउन सकेको थिएन्। 

About Surendra Jairu

Check Also

पुनर्वासमा बाढी प्रभावित २०० परिवारलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। सेव द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *