Breaking News

2024 मा एसकेएमले 32 मा 32 सीट जित्छ: मुख्यमन्त्री पीएस तामाङ, चालकका परिवारका लागि कयौं घोषणा

गान्तोक, 27 जुलाई 2023

राज्य सरकारको परिवहन विभागको तत्वावधानमा आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत सरमसा गार्डनमा मुख्यमन्त्री प्रेम सिंह तामाङको मुख्य आतिथ्यमा सारथी सम्मान दिवस 2023 पालन गरियो। यसै अवसरमा मुख्यमन्त्री श्री तामाङको बाहुलीबाट नवगठित सिक्किम चालक वेलफेयर बोर्डका अध्यक्ष सोनाम ओङ्गडुप भोटिया साथै अन्य पदाधिकारीगणलाई अभिनन्दन साथै प्रमाणपत्र प्रदान गरियो। पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस बोर्डको निम्ति राज्य सरकारले छुट्टै बजेट आवण्टन गर्ने बताए। साथै यस बोर्डको गठन परिवहन विभागबाट नभएर सोझै राज्य  सरकारको गृह विभागबाट अधिसूचना जारी गरेर गरिएको उनले जानकारी गराए।

 

2024 मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले 32मा 32 सीट जितेर फेरि सरकार बनाउने मुख्यमन्त्री प्रेम सिंह तामाङले ठोकुवा गरेका छन्। जति नै कराउ, जति नै कुद, जति नै गाँठो पर तर 24मा एसकेएम 32मा 32 हो, उनले भने। राज्यका प्रमुख विपक्षी पार्टीहरू एसडीएफ, सिटिजन एक्शन पार्टी (क्याप) र हाम्रो सिक्किम पार्टीलाई कटाक्ष गर्दै मुख्यमन्त्रीले अझ भने, छाता ओड़ेर, क्याप लगाएर सिटी बजावोस तर 24 मा एसकेएम सरकारलाई हटाउन सक्दैन कारण हामीले गरीबका निम्ति काम गरेका छौं र गरीबले हामीलाई छोड़ने छैन। उनी आज पूर्व सिक्किमको रानीपुल नजिक सरमसा गार्डनमा एउटा सरकारी कार्यक्रमलाई सम्बोधन गर्दै थिए।

सिक्किम डेमोक्रेटक फ्रण्ट पार्टीले हालै पारित गरेको 15 बुँदे प्रस्तावमाथि टिप्पणी गर्दै चुनाउ नजिक पवन चामलिङले अत्तालिएर आफू 25 वर्ष मुख्यमन्त्री हुँदा नगरेका घोषणाहरू गरिरहेको मुख्यमन्त्री प्रेम सिंह तामाङले बताए। यी घोषणाहरू 25 वर्ष सरकारमा हुँदा किन पूरा गरेन भन्दै उनले प्रश्न तेर्साएका छन्। राज्यमा दुईजना लोकसभा र दुईजना राज्यसभा सांसदको मागमा एसडीएफ-ले ग्रहण गरेको प्रस्तावमाथि प्रतिक्रिया जनाउँदै एसकेएम सरकारले राज्यका 4 वटा जिल्लासाई बड़ाएर 6 वटा बनाएकोले सांसदहरूको सङ्ख्या वृद्धीको कुरा गर्न एसकेएम पार्टीलाई मात्र सुहाउने कारण पूर्वको एसडीएफ सरकारले कहिल्यै यस दिशामा पहल नगरेको उनले बताए। यसरी नै एसकेएम पार्टीका अन्य प्रस्तावहरू पनि पत्यारो नरहेको कारण सत्तामा हुँदा उक्त पार्टीले ती विषयहरूलाई पूर्णरुपले बेवस्ता गरेको उनको भनाइ रहेको छ।

मुख्यमन्त्री तामाङले आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सत्तारुढ़ एसकेएम पार्टीको गरीब उन्मुक्ति दिवसको अवसरमा पूर्वको एसडीएफ सरकारले गरेका कथित भ्रष्टाचारको कालो चिट्ठा खोल्ने बताएका छन्।

 

कार्यक्रमअवधि परिवहन विभागद्वारा वर्ष 2023का निम्ति श्रेष्ट सारथी र कन्डक्टर पुरस्कार पनि प्रदान गऱ्यो। श्रेष्ट सारथी पुरस्कारले पुरस्कृत हुनेहरूमा छुल्टिम भोटिया र अशोक प्रधान रहेका छन् भने श्रेष्ट कन्डक्टर पुरस्कार प्राप्त गर्नेहरूमा रिकम गुरुङ र फेर्सा बहादुर छेत्री रहेका छन्।

यसरी नै सारथी सम्मान दिवसको छेक पारेर 18 जना महिला चालकहरूलाई, विभिन्न रुपमा समाजमा योगदान पुऱ्याउने चालक र चालक सङ्गठनहरूलाई साथै कुनै दुर्घट्ना बिना सर्वाधिक एसएनटी सुपरभिजन चार्ज बुझाउने चालकहरू डीबी छेत्री, पूर्ण बहादुर तामाङ र टिण्डे शेर्पालाई सम्मान जनाइयो भने दुर्घट्नाहरूको समय ज्यानमालको सुरक्षा गर्ने चालकहरूलाई “श्रेष्ट नागरिक पुरस्कार” ले पुरस्कृत गरियो। यसको साथै केही महिना अघि दक्षिण सिक्किमको मल्ली चेकपोस्टमा एक नाबालिगलाई तस्करी हुनबाट बचाउने जोरथाङका चालक सन्दीप गुरुङलाई सकेएम पार्टीको पक्षमा सहासिक पुरस्कारसँगै एउटा वाहन मुख्यमन्त्री प्रेम सिंङ तामाङको बाहुलीबाट प्रदान गरियो।

यसरी नै विगत वर्षहरूमा जस्तै यस वर्ष पनि सारथी सम्मान दिवसको अवसरमा राज्यका 6 वटा जिल्लाबाट दुई-दुईजना गरेर जम्मा 12 जना चालकलाई वेगन आर वाहन साथै 60 जना चालकका श्रीमती तथा छोराछोरीलाई विभिन्न विभागमा रोजगारको नियुक्ति पत्र पनि प्रदान गरियो। सम्बोधनको क्रममा मुख्यमन्त्री श्री तामाङले चालकहरूको हितमा थप केही घोषणा पनि गरे जसमा सिक्किम चालक वेलफेयर बोर्डमा पञ्जीकृत चालकका छोराछोरीले विभिन्न उच्च शिक्षामा अवसर पाएको खण्डमा सरकारले पढ़ाउने, चालकहरूको निम्ति वर्षेनी चालक खेलकुद एवं सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने, वर्षमा 108 जना चालकलाई अध्ययन भ्रमणमा पठाउने प्रमुख रहेको छ।

यसै कार्यक्रमको अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङको बाहुलीबाट परिवहन विभागका एम परिवहन मोबाइल एप एण्ड आधार बेस फेशलेस लर्नर्स लाइसेन्स, साझा सेवा केन्द्र र इन्ट्रिगेटेड रोड एक्सिडेन्ट डाटाबेस प्रोजेक्ट पनि विमोचन र उद्घाटन गरियो।

उल्लेखनीय छ, राज्यको सत्तारुढ़ पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले 27 जुलाईलाई चालक दिवसको रुपमा पालन गर्ने गरेको थियो भने 2019मा सरकारमा आएपछि परिवहन विभागको तत्वावधानमा यसै दिनलाई सरकारी कार्यक्रमको रुपमा सारथी सम्मान दिवस पालन गरिन थालेको हो। आजको कार्यक्रमलाई परिवहन मन्त्री एमएन शेर्पाले पनि सम्बोधन गरेका थिए।

About globalgorkhatimes.com

Check Also

सिक्किमका मुख्यमन्त्री पीएस गोलेद्वारा दिल्लीमा केन्द्रीय मन्त्री मनोहरलाल खट्टरसित भेटघाट

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री …

Leave a Reply

Your email address will not be published. Required fields are marked *