Breaking News

कञ्चनपुरको लालझाडीमा “चौथो कञ्चनपुर सम्मेलन-२०८१” सम्पन्न

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा “चौथो कञ्चनपुर सम्मेलन-२०८१” सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन, नक्सा, आईएचआरआर, जीएसएमए र नबिल बैङ्कको प्राविधिक साथै व्यवस्थापकीय सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने मुल नारा सहित सम्मेलनको आयोजना गरिएको हो। विपद्का विभिन्न पक्षहरू, जलवायु परिवर्तन र त्यसका असरहरूबारे छलफल, विचार-विमर्श तथा विश्लेषण गरि एकीकृत रूपमा सुरक्षित र दिगो विकासका लागि पालिका स्तरीय नीतिगत संवाद तथा ज्ञानको आदान-प्रदान गर्नका लागि साँझा मञ्च स्थापित गर्ने उद्देश्यले विगत केही वर्षदेखि ‘मेयर्स फोरम’ अर्थात् कञ्चनपुर सम्मेलन आयोजना गरिदैँ आईएको छ।

सम्मेलनमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन साथै उत्थानशील तथा दिगो विकासबारे विस्तृत छलफलसहित भावी योजना तर्जुमाका लागि सम्मेलनको आयोजना गरिएको बताउनुभयो। उहाँले सम्मेलनमा जलवायु परिवर्तनका कारण सृजित सङ्कट, विपद् जोखिम र यसको रोकथाम तथा न्यूनिकरणबारे छलफल भएको जानकारी दिँदै यो सम्मेलन फलदायी रहने तर्क गर्नुभयो। लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले लालझाडी विपद्को उच्च जोखिममा रहेको पालिका भएकाले सरोकारवालाहरूको ध्यानाकर्षण गरि विपद् जोखिम न्यूनीकरणका लागि सम्मेलन प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सबै स्थानीय तह, प्रदेश र सङ्घका जनप्रतिनिधि मिलेर जनस्तरमा काम गर्नुको विकल्प नरहेको बताउनु भयो। सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण लगायतका विषयमा प्रदेश सरकार दीर्घकालीन योजना बनाउन केन्द्रित रहेको उहाँको भनाई छ। मुख्यमन्त्री शाहले समग्र सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन र विकासको बाटोमा अगाडी बढाउनका लागि यो सम्मेलनमार्फत् स्थानीय तहहरूले ठोस रूपमा सल्लाह दिनुपर्ने अपेक्षा गर्नुभयो।

प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा (पातल) तथा स्थानीय तहका जनप्रतिनिधिहरूले विपद्को समयमा होस् वा अन्य विकासका काम गर्दा, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ।

सम्मेलनमा सरोकारवालाहरूबिच प्यानलमै संवाद कार्यक्रमहरु साथै मेयर्स राउण्ड टेबल कार्यक्रम समेत गरिएको थियो। जसको सहजिकरण न्यूज २४ का पत्रकार बिरेन्द्र जैरूले गर्नुभएको थियो। लालझाडीमा तीन महिनादेखि जङ्गली हात्तीले गरिरहेको क्षतिको विषय, बेलडाँडीमा बाढीको समयमा नहर भत्किँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको विषय, २३ वर्षदेखि आरक्षपीडितहरूले खोलानाला तथा बन जङ्गल किनारमा पीडादायी जीवन जिउनु परेको विषय र विपद्पछि राहत र पुनर्स्थापनामा देखिएका चुनौती जस्ता विषयले पनि सम्मेलनमा प्राथमिकता पाएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनु भएको छ।

सम्मेलनबाट जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जानकारी दिनुभएको छ।

२०७८ सालमा भीमदत्त नगरपालिकाबाट सुरुवात गरिएको कञ्चनपुर सम्मेलन २०७९ मा पुनर्वास नगरपालिकामा, २०८० सालमा दोधाराचाँदनी नगरपालिकामा र यस वर्ष लालझाडी गाउँपालिकामा आयोजना गरिएको छ। अर्को वर्ष बेलौरी नगरपालिकामा पाँचौँ कञ्चनपुर सम्मेलन गर्ने गरि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जिम्मेवारी लिनुभएको छ।

सम्मेलनमा कञ्चनपुरका नौ वटै पालिकाका मेयर-उपमेयर, अध्यक्ष-उपाध्यक्ष, वडा अध्यक्षहरू, जनप्रतिनिधि, नेपाल सरकारका उच्च पदस्त पदाधिकारीहरू, नेपाल प्रहरीका अधिकारीहरू, युवा सञ्जालका सदस्यहरू, पत्रकारहरू, सरोकारवाला निकाय र स्थानीय गरी ५ सयभन्दा बढिको उपस्थिति रहेको थियो।

About Surendra Jairu

Check Also

पोखरा—लुम्बिनीको खेलमा बने एनपिएलका नयाँ रेकर्ड

6 Dec 2024, काठमाण्डौ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराले लुम्बिनी लायन्सलाई १० …

Leave a Reply

Your email address will not be published. Required fields are marked *