कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बिचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सिमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सीमामा सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान, कञ्चनपुरले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान र दोधारा चाँदनी नगरपालिका ७ वडा कार्यालयको सहयोग र सशस्त्र प्रहरी बल, नेपाल एपीएफ बैधनाथ फिल्ड अस्पताल कैलालीको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको एपीएफ बैधनाथ फिल्ड अस्पताल, कैलालीका प्राविधिक सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ। “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सीमामा सशस्त्र प्रहरीले सुदूरपश्चिमको तोकिएको स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारतसँग जोडिएको सीमा बस्ती दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ कञ्चनभोजमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो। नि:शुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत नाक, कान, घाँटी लगायत अन्य रोगहरूको समेत जाँच सहित निःशुल्क उपचार गरिएको सशस्त्र प्रहरी निरिक्षक ठाकुरले बताउनुभयो।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारतसँग जोडिएको ग्रामीण बस्तीमा सशस्त्र प्रहरीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर निकै प्रशंसनिय रहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवाबाट टाढा रहेका ग्रामीण भेगका स्थानीयबासीहरूलाई सशस्त्र प्रहरीले प्रदन गरेको निःशुल्क स्वास्थ्य शिविरले निकै टेवा पुर्याएको उहाँले बताउनुभयो। आगामी दिनहरूमा सशस्त्र प्रहरीसँग समन्वय गरि बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत रहेको वडाध्यक्ष बहेक क्षेत्रीको भनाई रहेको छ।
सशस्त्र प्रहरीको यस्ता सामाजिक क्रियाकलापले सशस्त्र प्रहरी र जनता बिच सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने आफुले विश्वास लिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको भनाई रहेको छ।