नयाँ दिल्ली, 22 जुन 2024
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले केन्द्रीय वित्तमन्त्री निर्मला सीता रमणसँगको बैठकमा सिक्किममा प्राकृतिक आपदाले पुर्याएको क्षतिहरुका लागि विशेष अनुदान दिन ध्यानाकर्षण गराएका छन । नयाँ दिल्लीको भारत मण्डपममा आज बासेको बजेट पूर्व बैठकमा सहभागिता जनाइँदै मुख्यमन्त्री गोलेले वित्तमन्त्री सितारमणलाई दक्षिण ल्होनाक लेक फुटेर आएको बाढीले राज्यभरी पुर्याएको क्षतिबारे ध्यानाकर्षण गराउँदै दीर्घकालीन पुनर्निर्माणको प्रयासमा विशेष अतिरिक्त अनुदान सहायता दिनुपर्ने र सिक्किमको प्रमुख रोड एनएच-10 लाई तत्काल पुनर्बहाल गराउनमा जोड दिएका छन । आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले वित्तमन्त्री सितारमणलाई पुन मन्त्री नियुक्त भएकोमा शुभकामना दिँदै सहकारी संघीय प्रणालीको महत्वपूर्ण भूमिकाबारे जोड दिए । बैठकमा मुख्यमन्त्रीले सिक्किमका चिन्ताका विषयमा कुरा राख्दै आगामी केन्द्रीय बजेट 2024-25 सिक्किमका लागि विषेश ध्यान दिन आग्रह गरेका छन ।
बैठकमा मुख्यमन्त्रीले भीषण वर्षाले आएको जोखिमबारे प्रकाश पार्दै दिगो समाधान गरिनुपर्नेमा जोड दिएका थिए। सिक्किममा पुननिर्माण र मर्मतको खर्च अर्को ठूलो चिन्ताको विषय भएकाले मुख्यमन्त्रीले यसलाई पुनर्वास योजना प्रयास अनुसार गरिनुपर्नेमा आग्रह गरेका छन । यसबाहेक, मुख्यमन्त्रीले टिस्टा तेस्रो परियोजनाबाट वार्षिक राजस्व घाटाको लागि क्षतिपूर्तिको आवश्यकतामा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै र 2023-24 को लागि IGST समाधानमा कमीको समीक्षा गर्न आह्वान गरेका छन।
पुँजीगत खर्चको लागि दीर्घकालीन ब्याजरहित ऋणले सकारात्मक प्रभाव हुने भन्दै गोलेले सिक्किमको लागि बजेट बिनियोजन उच्च हुनुपर्ने बताउनुभयो । यसबाहेक मुख्यमन्त्रीले राज्यहरूको लागि उधारो सीमा कायम राख्न र राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत सहायता बढाउने प्रस्ताव गरेका छन।

सामाजिक संजालमा पोस्ट गर्दै मुख्यमन्त्रीले बजेटले सिक्किमका यी समस्याहरूलाई सम्बोधन गर्ने र राज्यको विकास र कल्याणलाई बढावा दिने विश्वास व्यक्त गरेका छन। यस बैठकमा कयौं राज्यका वित्तमन्त्री एंव अधिकारीहरुको उपस्थिति रहेको थियो ।