कञ्चनपुरः आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, महेन्द्रनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ। भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवर्द्धन समाज कञ्चनपुरको सह-आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो। संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्गता वर्ष घोषणा गरि विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरू गरिएको हो।
कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर तथा स्थानीय समन्वय समिति संयोजक नीलम लेखक जोशीले ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूको समावेशी प्रतिनिधित्व र उनिहरूको दिगो भविष्य निर्माणका लागि भीमदत्त नगरपालिका सदैव प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उन्नती, जीविकोपार्जन साथै हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरि काम गर्दै आएको बताउनुभयो।
सूदुरपश्चिम प्रदेश स्थानीय समन्वय समिति सदस्य उपेन्द्र बहादुर खडायतले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आएको भएपनि अझै धेरै अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारी र पुनर्स्थापनाबाट बञ्चित रहेको बताउनुभयो। उहाँले यी क्षेत्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी प्रतिनिधित्व स्थापित गर्नका लागि सरोकारवाला संस्थाहरूले राज्यसँग वकालत गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का मानव संसाधन तथा संस्थागत विकास व्यवस्थापक बिनोद बिक्रम जैरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चितता, उनिहरूको समावेशी प्रतिधित्व र हरेक कार्यालय तथा निकायहरूमा पहुँच स्थापनाका लागि नीति निर्माताहरूले ध्यान पुऱ्याउनुपर्ने बताउनुभयो।
दिवसको अवसरमा महेन्द्रनगरको संविधान चोकदेखि सुरू भएको प्रभात फेरी र्याली स्मारकमा पुगेपछि कार्यक्रम गरिएको थियो। दिवसको पूर्वसन्ध्यामा संविधान चोकमा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो। त्यस्तै विभिन्न खेलकुद कार्यक्रमको आयोजना समेत गरिएको थियो भने खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार स्वरूप नगद साथै प्रमाण पत्र हस्तान्तरण गरिएको छ।