कञ्चनपुरः विश्व वातावरण दिवस-२०८२ कञ्चनपुरमा विविध कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। “प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व” भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा वृक्षारोपण, सरसफाई तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।
दिवसको अवसरमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए र मर्सिकोर नेपालको सहयोगमा दोधारा चाँदनी नगरपालिका ३ स्थित जमुना आधारभूत विद्यालय क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा वृक्षारोपण, सरसफाई र सचेतनामूलक ऱ्यालीसहित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बाबाथान बजार, लक्ष्मी माध्यमिक विद्यालय र मिलन चौराहालगायत क्षेत्रमा कुहिने र नकुहिने फोहर संकलन गरी व्यवस्थापन समेत गरिएको छ।
कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बुले स्वच्छ, हराभरा र सफा समाज निर्माणमा सबैको दायित्व रहेको भन्दै व्यक्तिको सचेतना नै सफा वातावरणको आधार हुने धारणा व्यक्त गर्नुभयो। सरसफाई अभियानमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उत्थानशील युवा सञ्जाल, बजार व्यवस्थापन समिति, संघ–संस्था तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
वातावरणीय सन्तुलन, प्राकृतिक सम्पदा संरक्षण तथा नयाँ पुस्तामा माया र अपनत्व विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका थिए। साथै, साताव्यापी सरसफाई र वृक्षारोपण, वृक्ष संरक्षण कार्यक्रम निरन्तर रूपमा गर्नुपर्नेमा उनिहरूले जोड दिएका थिए।
भीमदत्त नगरपालिकामा आयोजित कार्यक्रममा वृक्षारोपणसँगै सचेतनामूलक र्यालीसमेत निकालिएको थियो। कार्यक्रम भीमदत्त नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर नेपाल, विभिन्न शैक्षिक संस्था, नगर प्रहरी, स्थानीय संघ–संस्थाहरू तथा सरोकारवालाहरूको सहकार्यमा सम्पन्न भएको हो।
वडा नं. १८ स्थित ईको पार्कमा वृक्षारोपण गरी कार्यक्रमको सुरुआत गरिएको थियो। त्यसपछि मदनचोक हुँदै डिभिजन वन कार्यालयसम्म र्याली निकालेर पुनः वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक जोशी, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरू, नगर प्रहरी, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



