कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व, ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने प्रचलन रहेको छ। प्रदेश बाहिर, भारत तथा विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाउँदै छन्।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरूवात गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो ब्यङ्गय पनि गरिन्छ।
गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ-आफ्नै चलन अनुसार गर्ने गरिन्छ। सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवम् मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
भारतमा पनि गौरा पर्वको रौनक
भारतमा पनि गौरा पर्वको उल्लास छाएको छ। भारतका विभिन्न स्थानमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले आज गौरा देवीको पुजाअर्चना गरि विधिवत् रूपमा यो पर्व मनाईरहेका छन्। प्रवासी नेपालीहरूले तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरूवात गरेका छन्। भारतमा गौरा पर्व सुरू भएपनि सांस्कृतिक कार्यक्रमहरू भने आईतबार बिदाको दिनमा आयोजना गरिने भएको छ।