कैलालीः पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले भजनी नगरपालिका र चुरे गाउँपालिकाका गणकहरूलाई लक्षित गर्दै दुई दिने घरधुरी सर्वेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र मर्सिकोर नेपालको साझेदारी तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (SAAN)’ परियोजनाअन्तर्गत उक्त कार्यक्रम होटल जियान धनगढीमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी गणकहरूलाई ODK Collect मोबाइल एपमार्फत डेटा संकलन गर्ने सीप, फिल्डमा प्रयोगात्मक अभ्यास, र विपद् जोखिमको पहिचानसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। जोखिम नक्साङ्कन, स्थानीय क्षमता सुदृढीकरण र सुरक्षित, सक्षम तथा सजग समुदाय निर्माणतर्फ अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
SAAN परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले जोखिम न्यूनीकरणमा पूर्वजानकारीका आधारमा गरिने कदमहरूको प्रभाव उल्लेख्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो अभिमुखीकरण कार्यक्रमहरूले स्थानीय गणकहरूलाई सशक्त बनाउँदै समुदायस्तरमा प्रभावकारी पूर्वकार्यको आधार तयार पार्ने तर्क गर्नुभयो। कार्यक्रम संयोजक बडुले भजनी नगरपालिकाको वडा नं. १, २, ४, ६ र ९ तथा चुरे गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ मा सर्भेक्षण सञ्चालन हुने जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम व्यवस्थापक बिनायक पौडेल र विनोद लामिछानेले सहजीकरण गर्नुभएको थियो। साथै, एनएनएसडब्ल्यूए र मर्सिकोर नेपालका प्रतिनिधिहरूको उपस्थिति पनि रहेको थियो।
सर्वेक्षणमार्फत सङ्कलित तथ्यांकले जोखिमको स्पष्ट चित्र प्रस्तुत गर्ने मात्र होइन, आगामी दिनमा पूर्वजानकारीमा आधारित निर्णय लिन र त्यसको कार्यान्वयनमा समेत महत्वपूर्ण टेवा पुऱ्याउने अपेक्षा गरिएको छ। यस्ता अभिमुखीकरणहरूले स्थानीय स्रोत र क्षमताको उपयोग गर्दै दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुर्याउने छ।
