कैलालीः विपद् जोखिमको दृष्टिले उच्च संवेदनशील मानिएको चुरे गाउँपालिकामा पहिलो पटक स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना हुने भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारी तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित “पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (SAAN)” परियोजनाअन्तर्गत स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना तथा कार्य सञ्चालनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघका निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले स्थानीय सरकार सञ्चालन ऐनअनुसार हरेक पालिकामा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र आवश्यक रहेको बताउनुभयो। यसलाई दृष्टिगत गर्दै चुरे गाउँपालिकालाई आवश्यक सम्पूर्ण सामग्रीहरू प्रदान गरिएको उहाँले बताउनुभयो। निमित्त कार्यकारी निर्देशक जैरूले यी सामग्रीहरूमार्फत् पालिकाले केन्द्र सञ्चालन गरेर विपद् व्यवस्थापनका क्षेत्रमा उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।
चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले चुरे गाउँपालिका बहु-प्रकोपीय जोखिममा रहेको बताउनुभयो। उहाँले पालिकामा विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी प्रायः नभएको अवस्थामा यस प्रकारको सहयोग अत्यन्तै महत्वपूर्ण हुने धारणा राख्नुभयो। अध्यक्ष बोगटीले पालिकासँग तथ्यांक र पूर्वतयारी योजना अभाव हुँदा नीतिगत निर्णय गर्न कठिन भइरहेको तर्क गर्दै सामग्री प्राप्त भएसँगै स्थापना हुने केन्द्रले डाटा संकलनदेखि पूर्वसूचना व्यवस्थापन र विपद् प्रतिकार्य संयन्त्र विकासमा सघाउ पुऱ्याउने बताउनुभयो।
पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (SAAN) परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि चुरे गाउँपालिकालाई एक थान डेल कम्प्युटर, डिजिटल डिस्प्ले बोर्ड, प्रिन्टर, राउटर, कार्यालय टेबल, एक्सटर्नल हार्ड डिस्क, कार्यालय कुर्चि, प्लाष्टिक कुर्चिहरू, नोटिस बोर्ड, स्टील कपबोर्ड, अफिस प्याकेट, भिजिबिलिटी बोर्ड र स्मार्ट बोर्ड सहित झन्डै ६ लाख ४० हजार २ सय बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
कैलालीको चुरे गाउँपालिका भौगोलिक रूपमा कान्छो पहाड क्षेत्रमै पर्ने भएकाले भूस्खलन, बाढी, सुख्खा र वन डढेलो जस्ता बहु-प्रकोपीय विपद्को उच्च जोखिममा छ। विगतमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र वा पूर्वतयारी योजनाको अभावले पालिकामा विपद् व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिएको थिएन। स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको स्थापना र प्रविधिसम्पन्न सामग्रीहरूको प्रयोगबाट चुरे गाउँपालिकाले स्थानीय स्तरमै जोखिमको आँकलन, डेटा व्यवस्थापन, तथा समग्र विपद् व्यवस्थापनमा प्रभावकारी काम गर्न सक्ने विश्वास गरिएको छ।