Breaking News

बेलडाँडी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको पुर्नवास नगरपालिकापछि बेलडाँडी गाउँपालिकामा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको हो।  ब्ल्याङ्केट एप्रोजअन्तर्गत कम्तीमा ३ जना मुल बिरामीहरूलाई समेट्ने गरि कम्तीमा ३ सय मिटरको सेरोफेरोमा रहेका समूदायका व्यक्तिहरूलाई जाँच गरेर औषधी खुवाउने गरिएको छ। बेलडाँडी गाँउपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा अभियान सुरू भएको हो।

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले शरीरको स्क्रिनिङ्गपछि एक खुराक रिफाम्पिसिन खाएर अभियानको शुभारम्भ गरिन्। अभियानको उद्घाटन कार्यक्रमक्रमा बोल्दै उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिकामा नयाँ केसहरू पत्ता लाग्ने क्रम जारी रहेकोले कुष्ठरोग रोकथाम घरदैलो अभियान अतिआवश्यक रहेको बताइन्। उनले भनिन् “रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व हो। यसमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने एनएलआर नेपाल र एनएनएसडब्ल्यूएलाई धन्यवाद” उनले कार्यक्रम पालिकाका ५ वटै वडाहरूमा सञ्चालन हुने जानकारी दिँदै आफ्नो शरीरको जाँच गरेर औषधी सेवन गर्न सबैलाई अनुरोध गरिन्।

बेलडाँडी गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले कुष्ठरोग प्रतिको नकारात्मक धारणाको अन्त्य गर्नुपर्ने बताए। उनले कुष्ठरोग प्रभावित व्यक्तिहरू समाजमा खुलेर आए कुष्ठरोग निवारणमा सहजता हुने भएकोले भेदभाव रहितको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

बेलडाँडी गाउँपालिका वडा नम्बर ३ आधारभूत स्वास्थ्य केन्द्र खैरीघाटका इन्चार्ज महेश सिँह खत्रीले बेलडाँडी गाउँपालिकामा ५ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेकोले कुष्ठरोग निवारण निकै चुनौतीपूर्ण रहेको बताए। उनले ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा संचालित यस अभियानको मुख्य उद्देश्य समाजमा लुकेर बसेका बिरामीलाई उपचारको दायरामा ल्याउने र प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई रोग नलागोस् भनेर एक खुराक रिपाम्पिसिन औषधी खुवाउने रहेको बताए।

अभियानअन्तर्गत महिला स्वास्थ्यकर्मीद्वारा महिला र पुरूष स्वास्थ्यकर्मीद्वारा पुरूषको शरीरको जाँच गर्ने गरिएको छ। जाँच गर्ने क्रममा कुष्ठरोगको लक्षण चिन्ह देखिएका शंकास्पद बिरामीलाई थप जाँच गरि कुष्ठरोग पुष्टी भएमा एमडीटी सुरू गराइने र लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाउने गरिएको छ। कुष्ठरोग रोकथाम घरदैलो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि अभियानमा संलग्न हुने स्वास्थ्यकर्मीहरू र स्थानीय जनप्रतिनिधिहरूलाई कुष्ठरोग रोकथाम घरदैलो अभियान बारे अभिमुखिकरण गरिएको थियो।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *