कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सघाउ पुऱ्याउने उद्देश्यले ‘प्रकोप विशेष नक्सा’ स्थापना गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्ल्यू.ए.), डि.सी.ए., नक्सा प्रालि, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आई.एच.आर.आर.), ए.डी.पी.सी., जी.एस.एम.ए. र यूके एडको सहकार्यमा स्थानीय पालिकासँगको समन्वयमा यी नक्साहरू विकास र स्थापना गरिएको हो। दोधारा चाँदनी नगरपालिकाको कार्यालय तथा त्यस अन्तर्गतका सबै १० वटा वडा कार्यालयहरूमा प्रकोप विशेष नक्सा जडान गरिएको छ भने, भीमदत्त नगरपालिका कार्यालय र जोखिमयुक्त वडा नं. ९, १०, ११, १२ र १३ मा नक्साहरू स्थापना गरिएको हो। परियोजना अन्तर्गत दोधारा र भीमदत्त नगरपालिकाका गरि उच्च जोखिममा रहेका चार वटा समुदायहरूको जोखिम नक्सांकन (म्याप बोर्ड) स्थापना गरिएको छ। साथै विपद्का बेला उद्धार कार्य, राहत कार्य तथा अन्य सहायता कार्यक्रममा सहजताका लागि जोखिमयुक्त घरधुरीको छानामा सांकेतिक झण्डा तथा सम्पूर्ण विवरण सहितको सूचना पाटी राखिएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्ल्यू.ए.) सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा घरधुरी स्तरीय विपद् जोखिम तथा संकटासन्नता विश्लेषण, खुला स्थानहरूको भौगोलिक सूचना प्रणाली (जी.आई.एस.) प्रविधिबाट नक्सांकन गरि डिजिटल प्रोफाइल तयार गरिएको बताउनुभयो। उहाँले नक्साहरूमा बाढी, डुबान, भूकम्प, आगलागी जस्ता प्रमुख प्रकोपहरू, सम्भावित प्रभावित क्षेत्रहरू, सुरक्षित स्थानहरू, उद्धार तथा राहत केन्द्रहरू, साथै जनसांख्यिकीय, सामाजिक र भौगोलिक विवरणहरू समेटिएको जानकारी दिनुभयो। उहाँले यो प्रयासले समुदायमा जोखिम सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक जोशीले नक्सामा समावेश गरिएको सूचनाले प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले सुरक्षित तथा खुला स्थानहरू, उद्धार तथा राहतका लागि उपयुक्त स्थानहरू, र वडास्तरीय विवरणहरू समेटिएकाले नक्साको प्रयोग धेरै उपयोगी हुने धारणा राख्नुभयो।
दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले यस्ता नक्साहरूले समुदायस्तरमा जोखिम न्यूनीकरण र व्यवस्थापनमा सघाउ पुऱ्याउनुका साथै वडा तथा पालिकास्तरमा विपद् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी योजना निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस्ता प्रकोप विशेष नक्साहरूको स्थापनाले विपद्सँग जुध्न समुदायलाई केवल जानकारी मात्र नभई, आवश्यक तयारी र क्रियाशील योजना निर्माणको ठोस आधारसमेत प्रदान गरेको छ। स्थानीय सरकार, प्राविधिक संस्था र समुदायबीचको सहकार्यबाट अघि बढाइएको यस पहलले दीर्घकालीन रूपमा जोखिम न्यूनीकरण, सुरक्षित बासोबास र दिगो विकासतर्फको यात्रामा उदाहरणीय योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।