कैलालीः कैलालीको चुरे गाउँपालिकामा सामुदायिक प्रतिकार्य टोलीलाई लक्षित गरि पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू भएको छ। विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि समुदायलाई सशक्तिकरण गर्नका चुरे गाउँपालिका वडा नम्बर १ र ५ का सामुदायिक प्रतिकार्य टोलीका प्रतिनिधिहरूलाई लक्षित गर्दै पाँच दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरू भएको हो।
तालिम नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र मर्सिकोर नेपालद्वारा सञ्चालित पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजनाको आयोजना, चुरे गाउँपालिकाको समन्वय तथा कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।
तालिमको उद्घाटन गर्दै चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले पूर्वतयारीमा कमजोरी भएमा जनधनको क्षति बढ्ने सम्भावना हुने उल्लेख गर्नुभयो। उहाँले यस्तो तालिमले समुदायमा व्यवहारिक दक्षता र सचेतना वृद्धि गरेर जोखिम न्यूनीकरणमा ठोस सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा विपद् पहिचान, उद्धार, प्राथमिक उपचार, बाढी तथा पहिरो व्यवस्थापन, आगलागी तथा डढेलो नियन्त्रण, साथै भूकम्पपछिको तत्कालीन व्यवस्थापन सम्बन्धी व्यवहारिक विषयवस्तु समेटिएका छन्।
SAAN परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले समुदायलाई सक्षम र व्यवस्थित प्रतिकार्य टोलीको रूपमा तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले तालिमपश्चात् सहभागीहरू विपद्का बेला तत्काल क्रियाशील भएर उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिपीराज सोतीले तालिमको प्रशंसा गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित सान परियोजनाले विपद् जोखिम न्यूनीकरण तथा प्रारम्भिक तयारीमा चुरे गाउँपालिकालाई सशक्त साझेदारका रूपमा सहयोग गरिरहेको बताउनुभयो। उहाँले यसको सकारात्मक प्रभाव आगामी विपद् व्यवस्थापनमा देखिने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत सोतीले विशेष गरी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा लक्षित तालिम आवश्यक रहेको उल्लेख गर्दै, प्रशिक्षकहरूलाई सो विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
विपद् जोखिमको उच्च समय मानिने मनसुनको पूर्वसन्ध्यामा आयोजित यस तालिममा वडा नम्बर १ र ५ का २४ जना सामुदायिक प्रतिकार्य टोली सदस्यहरू सहभागी रहेका छन्। सहभागीहरूलाई प्राथमिक उपचार, आगो नियन्त्रण, खोज तथा उद्धार, जोखिम मूल्याङ्कन, र सूचना प्रवाहको अभ्याससमेत गराइनेछ।
यस तालिमको सहजीकरण प्रकाश डागी र शुशिल चौधरीले गरिरहनुभएको छ। परियोजनाले गाउँपालिकाका अन्य वडामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने जनाएको छ।
