कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा पर्ने पार्की सार्की टोलका बासिन्दा वर्षेनि बाढी र नदी कटानको उच्च जोखिममा जीवनयापन गर्न बाध्य छन्। चौधरसहित पाँचवटा खोला मिसिने स्थानमा अवस्थित यो बस्ती बाढी तथा कटानको नियमित चपेटामा पर्दै आएको छ। सो क्षेत्रका समुदायहरू प्रत्यक्ष रूपमा जोखिममा परेका छन्। जलवायु परिवर्तनको असर र नदीजन्य विपद्को मारले गर्दा स्थानीयवासीले सुरक्षित स्थानको खोजीमा आफ्नो बासस्थान त्याग्नुपरेको अवस्था छ। कतिपय परिवार भारततर्फ समेत विस्तापित भएका छन्।
यस्तै, बेदकोट नगरपालिकाको चौधर नदी बेसिनमा पर्ने अन्य चारवटा समुदाय पनि हरेक वर्ष यस्तै जोखिममा पर्ने गरेका छन्, भने तल्लो तटीय क्षेत्र अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाका बस्तीहरू समेत डुबान र कटानको मारमा परिरहेका छन्।
स्थानीय बासिन्दा पार्वती ओडका अनुसार चौधर नदीको किनारमा रहेको उक्त बस्तीमा हरेक वर्ष बाढी र कटानको समस्या दोहोरिने गरेको छ। बाढीका कारण धेरैजसो दाजुभाइले विस्थापित भई गाउँ छाडिसकेको उहाँको भनाई छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले पार्की सार्की टोलको अवस्था अध्ययन गर्न टोलीसहित स्थलगत भ्रमण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढीबाट समुदायलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको छ। उहाँले एनएनएसडब्ल्यूए र डीसीएको आर्थिक सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयको टोलीले विपद्को अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो।
त्यसैगरी, डीसीएका व्यवस्थापक दिनेश गुरुङले गरिब तथा सीमान्तकृत समुदाय बाढी जस्ता विपद्बाट बढी प्रभावित हुने भन्दै बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई सबै समुदायसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
इन्स्टिट्यूट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले समेत यो क्षेत्र हरेक वर्ष बाढीको चपेटामा पर्ने भएकाले समुदाय उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो। उहाँले संस्थाले परियोजनामार्फत समुदायको क्षमता अभिवृद्धि, पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य तथा सुरक्षित स्थानतर्फ सर्ने अभ्यासको विकासमा ध्यान दिइरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षदेखि बेदकोटमा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा प्रभावमा आधारित मौसम पूर्वानुमान सेवा सुरु गर्न लागिएको पनि बताउनुभयो।
पार्की सार्की टोल जस्तै धेरै ठाउँहरू जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट प्रभावित भइरहेका छन्। जोखिम कम गर्न र समस्या समाधान गर्न सरकार, स्थानीय तह र संघसंस्थाले मिलेर काम गर्नैपर्छ। यस्ता सहकार्यले नै हाम्रो समुदायको सुरक्षा र राम्रो भविष्य सुनिश्चित गर्न सक्छ।


