कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ। आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा संस्थाको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको हो।
स्वतन्त्र व्यक्ति सूदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपक चन्द्र भट्टले एनएनएसडब्ल्यूएले काम गर्ने ‘थ्री डी’ एप्रोज नेपालकै सन्दर्भमा एउटा विशिष्टतम् एप्रोज भएको बताउनुभयो। उहाँले सीमान्तकृत र जोखिमयुक्त समुदायका लागि काम गर्ने संस्थाहरू धेरै भएपनि एनएनएसडब्ल्यूएले ‘थ्री डी’ अर्थात् जातिय विभेदमा परेका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडि पारिएका समुदायहरूको लागि काम गर्ने भएकाले यो नै विकासको लागि एउटा महत्त्वपूर्ण सम्भावना भएको बताउनुभयो। उहाँले संस्थाले गरेका कामहरू पारदर्शी, जवाफदेही साथै सुशासनको अभ्यास अनुसार गरिएको बताउनुभयो।
प्राध्यापक डाक्टर भट्टले विपद् व्यवस्थानपको महत्त्वपूर्ण चरण विपद् पूर्वको चरण भएकोले संस्थाले पूर्वसूचना प्रणालीमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो। उहाँले घरधुरी स्तरीय जोखिम नक्साङ्कन र कुतियाकबरमा निर्माण गरिएको सुरक्षित आवास गृह सराहनिय रहेको बताउनुभयो। उहाँले अपाङ्गता, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र अपेक्षित काम भएको बताउनुभयो। उहाँले संस्थामा परियोजना वेस कार्यक्रमहरू हुने भएकाले परियोजनाको समाप्तीपछि त्यसको निरन्तरताको लागि स्थानीय तहले जिम्मेबारी बहन गर्नुपर्ने धारणा राख्नुभयो। प्राध्यापक डाक्टर भट्टले संस्थाले समग्रमा संतोषजन कार्य गरेको बताउनुभयो।

कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुख दुर्गा दत्त बोहराले नेपाल राष्ट्रिय समाज कल्याण संघले जातीय विभेदमा पारिएका दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडी पारिएका समुदायहरूलाई उत्थानशील बनाउनमा अपेक्षित उपलब्धी हासिल गरेको बताउनुभयो। उहाँले संस्थाले पारदर्शी तथा इमान्दारितापूर्वक कार्य गरेकोले ३५ वर्षे यात्रा पार गर्न सफल भएको बताउनुभयो। उहाँले पारदर्शी तथा इमान्दारितापूर्वक कार्यक्रमहरू सञ्चालन गर्ने गरेकाले मात्र एनएनएसडब्ल्यूएले जिल्ला परियोजना सल्लाहकार समिति बैठक तथा सामाजिक लेखा परीक्षण गर्ने आँट गरेको उल्लेख गर्नुभयो। उहाँले एनएनएसडब्ल्यूएले गरेका कामहरू अति उत्कृष्ट रहेको तर्क गर्दै यसको निरन्तरताको कामना गर्नुभयो।
कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एनएनएसडब्ल्यूएले समाज रुपान्तरणमा अतुलनीय योगदान गरेको बताउनुभयो। उहाँले लालझाडी गाउँपालिकामा एनएनएसडब्ल्यूएले समावेशी गुणस्तरीय शिक्षा परियोजनामार्फत् काम गरिरहेको बताउनुभयो। अध्यक्ष रानाले परियोजनाद्वारा सञ्चालित ‘स्कूल एट होम’ कार्यक्रम विद्यालय जान नसक्ने अपाङ्गता भएका बालबालिकाहरूका लागि निकै राम्रो काम भएको बताउनुभयो। उहाँले लालझाडी गाउँपालिकामा अझै कार्यक्रमहरू ल्याउन आग्रह गर्दै आफ्नो कार्यकालमा निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद्का दृष्टिकोणले जोखिमयुक्त पालिकामा एनएनएसडब्ल्यूएले विपद् न्यूनीकरण तथा समुदायलाई उत्थानशील बनाउनमा महत्त्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो। उहाँले संस्थाले विपद् न्यूनीकरणका लागि समूदायको क्षमता अभिवृद्धि, पूर्वसूचना प्रणालीको विस्तार, कार्यविधि तथा नीति निर्माणमा गरेको काम सराहनीय रहेको बताउनुभयो। उहाँले जोखिमयुक्त समुदायलाई उत्थानशील बनाउनका लागि संस्थाले कृषि तथा व्यवसाय सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको भन्दै त्यसको दायरा बढाउन तर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थाद्वारा हाल सञ्चालनमा रहेका परियोजनाका कार्यक्रम संयोजकहरूले आफ्नो परियोजनाले हालसम्म हासिल गरेको उपलब्धीहरूको बारेमा प्रस्तुती गरेका थिए। त्यस्तैगरी संस्थाको तर्फबाट प्रशासन तथा लेखा अधिकृत दिपक कुमार परियारले लेखाको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्वतन्त्र व्यक्ति सूदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपक चन्द्र भट्टले सामाजिक लेखा परीक्षणको सहजिकरण गर्नुभएको थियो।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, नगरपालिकाका प्रमुख तथा उप-प्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सरोकारवाला निकाय कार्यालयका प्रमुख तथा प्रतिनिधि, लाभग्राही, कृषक समूह, उत्थानशील युवा सञ्जालका सदस्यहरू साथै पत्रकारहरूको उपस्थिति रहेको थियो।

