Breaking News

कञ्चनपुरका पुनर्वास र लालझाडीमा पूर्वानुमानमा आधारित पूर्वकार्य परियोजना (SAAN) सञ्चालनमा

कञ्चनपुरसुदूरपश्चिम प्रदेशका बाढी प्रभावित क्षेत्रमा विपद् जोखिम न्यूनीकरण साथै समयमै पूर्वतयारी सुनिश्चित गर्न ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN)’ परियोजना औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। कञ्चनपुरका पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा परियोजना शुभारम्भ भएसँगै समुदायस्तरमै पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा डिजिटल वित्तीय साक्षरतामा आधारित गतिविधिहरू अघि बढाइने भएको हो।

पुनर्वास र लालझाडीमा परियोजनासम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ। पुनर्वास नगरपालिकामा नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षता आयोजना गरिएको कार्यक्रममा वडाध्यक्षहरू, शाखा प्रमुखहरू, संघ-संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। त्यस्तै बिहीबार लालझाडी गाउँपालिकामा आयोजना भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियो। सो कार्यक्रममा उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, रेडक्रस, एनएनएसडब्ल्यूए, मर्सिकोरका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण लालझाडीका विपद् व्यवस्थापन शाखा प्रमुख हेमराज उपाध्यायले गर्नुभएको थियो।

परियोजना संयोजक देवराज बडुका अनुसार SAAN परियोजनाले विपद् आउनुअघि नै पूर्वसूचना प्रवाह, जोखिम मूल्याङ्कन, पूर्वतयारी उपकरण वितरण र समुदायको सशक्तिकरणमा जोड दिने छ। यसले संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई बलियो बनाउँदै दीगो सामाजिक सुरक्षातर्फ उन्मुख गराउने लक्ष्य लिएको छ। संयोजक बडुले दुवै पालिकाहरूमा परियोजनाको उद्देश्य र कार्यविधिबारे प्रष्ट पार्दै जातीय विभेदमा परेका, अपाङ्गता भएका साथै पछाडि पारिएका समुदायहरूलाई लक्षित गरी पूर्वकार्य अघि बढाइने जानकारी दिनुभयो।

जोखिम आधारित योजना निर्माण, जोखिम हस्तान्तरण, र बीमा योजनाको कार्यान्वयनमार्फत समुदायको दीगो विपद्‌ तयारी तथा सामाजिक सुरक्षाको स्तर उकास्ने उद्देश्य परियोजनाको रहेको छ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली जिल्लाको भजनी नगरपालिका र चुरे गाउँपालिका त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका र लालझाडी गाँपालिकामा कार्यक्रमहरू सञ्चालन गर्नेछ।

पुनर्वास र लालझाडीमा मर्सिकोर र रूमसन एसोसिएट्सको सहकार्यमा B4A (Forecast-Based Action) परियोजना समेत प्रारम्भ गरिएको छ। ब्लकचेन प्रविधिको प्रयोग गरी राहत प्लेटफर्म निर्माण, SMS र भ्वाइस मेसेजमार्फत पूर्वसूचना प्रवाह, डिजिटल भौचर प्रणालीमार्फत नगद सहयोगको प्रभावकारी व्यवस्थापन गरिने बताइएको छ। उक्त परियोजना MERCY CORPS VENTURE को आर्थिक सहयोगमा सञ्चालनमा आएको हो। परियोजनाले पालिकाको विपद् व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री, छरितो र पारदर्शी बनाउने लक्ष्य लिएको रुमसन एसोसिएट्सका सिनियर कम्युनिटी कोर्डिनेटर अच्युत सुवेदीले बताउनुभयो।

कार्यक्रम समापनका क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले लालझाडीको विकासका लागि थुप्रै संघ-संस्थासँग साझेदारी गरिरहेको उल्लेख गर्दै आगामी दिनहरूमा समेत विकास साझेदार संस्थाहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। विपद् व्यवस्थापनका क्षेत्रमा विकास साझेदार संस्थाहरू अझ बढी महत्त्वपूर्ण भूमिका हुने बताउँदै SAAN परियोजनाको सफल कार्यान्वयनका लागि शुभेच्छा व्यक्त गर्नुभयो।

About Surendra Jairu

Check Also

चौधर जलाधारमा जलवायु जोखिम न्यूनीकरणको दिशामा स्थानीय पूर्वकार्य प्रणालीको ऐतिहासिक सुरूवात

कञ्चनपुरः जलवायु परिवर्तनको बढ्दो चुनौतीहरूसँग जुध्न र स्थानीय समुदायलाई थप सुरक्षित एवम् सक्षम बनाउन कञ्चनपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *