गान्तोक, 4 अगस्त 2023
रिनोकका विधायक विष्णुकुमार शर्मालाई सिक्किम सरकारको नयाँ मन्त्री बनाइएको छ । शुक्रबार राजभवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रेनोकका विधायक विष्णुकुमार शर्माले मन्त्रीको रुपमा सपथ लिएका हुन् । विधायक शर्मालाई राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।
पूर्वमन्त्री डा एमके शर्माले यसै वर्षको सुरुमा राजिनामा दिएपछि मन्त्रालय रिक्त रहेकोले नवनियुक्त मन्त्रीले स्वास्थ्य तथा परिवार कल्याण विभागको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।
सर्वोच्च अदालतको एक आदेशले सिक्किमे नेपालीहरुलाई विदेशी भनेको आशय दिएर तत्कालीन स्वास्थ्य मन्त्री डा एमके शर्माले गत 2 फरवरीका दिन पदबाट राजिनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री प्रेम सिंह तामाङले स्वास्थ्य विभागको जिम्मेवारी पनि आफैसँग राख्दै आएका थिए । तर हिजो बसेको विधायक दलको बैठकमा रिनोकका विधायक विष्णुकुमार शर्मालाई मन्त्री बनाउने निर्णय भएसँगै आज उनले मन्त्री पद सम्हालेका छन भने उनले सोही स्वास्थ्य एंव परिवार कल्याण विभागको जिम्मेवारी दिइने अनुमान गरिएको छ ।
शपथ ग्रहणपछि पत्रकारहरुसित कुरा गर्दै नवनियुक्त मन्त्रीले आफुलाई मन्त्री बवाउने निर्णयलाई मुख्यमन्त्री पीएस तामाङको न्यायपुर्ण निर्णय भएको बताएका छन । उनले आफुलाई मन्त्री बनाउँदा पाकिङ जिल्लाका सम्पूर्ण जनता निकै खुशी भएको बताएका छन ।