कैलालीः कैलालीको चुरे गाउँपालिकामा नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाको शुभारम्भ गरिएको छ। चुरे गाउँपालिकाको सभा हलमा आयोजित एक कार्यक्रमका बीच परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा यो परियोजना सुरू गरिएको हो।
सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले राष्ट्रिय तथा प्रदेश स्तरको सूचना प्रणालीलाई सुधार गरि पूर्वानुमानमा आधारित प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ पार्ने उद्देश्य सहित परियोजना सुरू गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो परियोजना लक्ष्य नवीन ढङ्गले जोखिम सम्बन्धी जानकारीहरूको आदान-प्रदान गर्दै समुदायस्तरमा पूर्वतयारी क्षमता अभिवृद्धि र सहभागितामा आधारित विपद् जोखिम न्यूनीकरणका उपायहरू लागु गर्ने रहेको छ।”
“स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गरिनेछ र वित्तीय संयन्त्रहरूलाई नवप्रवर्तनशील, सक्षम र सुदृढ बनाइनेछ, संयोजक बडुले भन्नुभयो।”
जोखिम आधारित योजना निर्माण, जोखिम हस्तान्तरण, र बीमा योजनाको कार्यान्वयनमार्फत समुदायको दीगो विपद् तयारी तथा सामाजिक सुरक्षाको स्तर उकास्ने उद्देश्य परियोजनाको रहेको छ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली जिल्लाको भजनी नगरपालिका र चुरे गाउँपालिका त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका र लालझाडी गाँपालिकामा कार्यक्रमहरू सञ्चालन गर्नेछ।