कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकहरूलाई सम्मानित गरेको हो। दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट गरिएका दलित, गरिब तथा विपन्न जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभयो। “सभ्य समाजको आधार: जेष्ठ नागरिक मैत्री घरपरिवार” नारा सहित सञ्चालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तर्क्रिया कार्यक्रममा जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच सहित औषधी समेत वितरण गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा आफ्नो विचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई विभिन्न खाले सेवा सुविधा दिँदै आएकोमा धन्यवाद दिनुभयो। उहाँले दोधारा चाँदनी नगरपालिकाले पनि विभिन्न समयमा जेष्ठ नागरिकहरूलाई सहयोग तथा सम्मान गर्दै आएको बताउनुभयो। दोधारा चाँदनी नगरपालिकाले आगमी दिनमा जेष्ठ नागरिकहरूलाई दुख-सुख पोख्ने थलोको रूपमा जेष्ठ नागरिक भवन निर्माण गरिदिन उहाँले आग्रह गर्नुभयो।
ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित र सम्मानित हुने अवस्थाको सुनिश्चित गर्दै उनिहरूको योग्यता, अनुभव, ज्ञान र सिपलाई सामाजिक विकासमा उपयोग गर्नु जरुरी रहेको दोधारा चाँदनी नगरपालिका-८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो। समाज अहिले आएर विकृती तथा विसंगतीतर्फ उन्मुख भईरहेको अवस्थामा विद्यालय स्तरदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीमा ज्येष्ठ नागरिक प्रतिको सम्मान र कर्तव्यका विषयमा बोध गराउन सकियो भने कोमल मष्तिस्कमा परेको प्रभावले सकरात्मक नतिजा हासिल हुने वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताउनुभयो। अतितका प्रतीक र वर्तमानमा सृजनाका स्रोत हाम्रा अग्रजका विषयमा युवा पुस्ताले गम्भीर भएर सोच्नु पर्ने अवस्था रहेको उहाँले तर्क छ। बुबा आमालाई मैले पालेको छु भन्दै हिड्नुको सट्टा आमा बाबु सँगै बस्न पाएकोमा गर्व गर्न सक्नुपर्ने उहाँको भनाई रहेको छ।