नयाँदिल्ली/24 अक्टोबर,2024, भारतको राजधानी दिल्लीमा संयुक्त राष्ट्र स्थापना दिवसको अवसरमा नेपालसहित कयौं देशका प्रतिनिधिहरुलाई जम्बूद्वीप पद्मश्री अवार्ड एंव सेवाश्री अवार्डले सम्मानित गरिएको छ । संयुक्त राष्ट्रका 192 सदस्य राष्ट्रध्वजाका नागरिक सम्मान कार्यक्रम अन्तर्गत देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष तथा मैया देवी कन्या कलेज भरतपुर, चितवनका अध्यक्ष टंकनाथ पौडेललाई धार्मिक र सामाजिक कार्यमा गरेको अतुलनीय योगदानका लागि जम्बूद्वीप पदमश्री अवार्डले सम्मानित गरिएको हो । अन्तराष्ट्रिय समरसता मंच, राष्ट्रिय समता स्वतन्त्र मंच एंव इण्डो-नेपाल समरसता अर्गनाईनेशनले आयोजना गरेको अवार्ड समारोहमा नेपालका पूर्व उपराष्ट्रपति परमान्द झा प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो भने भूटानका पूर्व मन्त्री लोकनाथ शर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । समारोहमा नेपालको संस्कृति एंव पर्यटनलाई प्रवर्धन गर्दै पुरस्कृत हुने पाहुनाहरुलाई नेपालको पहिचान टोपी पहराइएको थियो भने नेपालमा लगानी गर्न चाहने व्यापारी वर्गलाई लगानीको वातावरण सृजना गर्न सहयोग गरिने आश्वासन दिइएको थियो ।
जम्बूद्वीप पदमश्री अवार्ड विजेता समाजसेवी टंकनाथ पौडेलले यसअघि नेपालका हालसम्मका 3 वटै राष्ट्रपतिद्वारा सम्मानित भइसक्नु भएको छ भने सयौं संस्थाद्वारा पनि सम्मानित हुनुभएको छ । समारोहका क्रममा ग्लोबल गोर्खा टाईम्ससित कुरा गर्दै पौडेलले आफु नेपाललाई चिनाउनका लागि आयोजक संस्थामा अहोरात्र खटने बताउनु भएको छ ।
समारोहमा नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मंचका अन्तराष्ट्रिय संस्थापक अध्यक्ष डा इ विष्णु प्रसाद बरालको समेत उपस्थिति रहेको कार्यक्रममा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले आयोजक संस्थाको कार्यको प्रसंशा गर्दै नेपालमा भारतीय पर्यटकहरुलाई यात्रा गराएर र भारतमा नेपाली टोपी पहिराईदिएर नेपालको प्रवर्द्धन गरिरहेको बताउनुभयो ।