कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्।
केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का खेलाडीहरूले आफुहरूले प्रतियोगिताबाट प्राप्त गरेको नगद धनरासी पुरस्कारबाट गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला, कापीकलम लगायतका शैक्षिक सामग्री वितरण गरेको दोधारा चाँदनी नगरपालिका- २ का वडा अध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ। विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा विजेता खेलाडीहरूलाई सम्मान समेत गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो। वडा कार्यालयले वडा क्षेत्रमा रहेका अनाथ, अपाङ्गता भएका गरिब बालबालिकाहरूलाई उनिहरूको पठन-पाठनमा सहयोग गर्दै आएको बताउँदै वडा अध्यक्ष रावले खेलाडीहरूले पनि उनिहरूको अवस्थालाई मध्यनजर राख्दै थोरै भएपनि सहयोग गर्ने प्रयास गरेकोमा खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
वडा अध्यक्ष रावलले अनाथ, अपाङ्गता भएका तथा गरिब बालबालिकाहरूको भविष्यको ख्याल राखेर वडा कार्यालयले आगामी दिनमा समेत उनिहरूका लागि विभिन्न प्रकारका कार्यक्रम ल्याएर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खेलाडी र वडा कार्यालयको सहयोगबाट वडामा रहेको ५ जना अनाथ, अपाङ्गता भएका तथा गरिब बालबालिकाहरूलाई न्यानो कपडा, झोला, कापीकलम लगायत शैक्षिक सामग्री वितरण गरिएको दोधारा चाँदनी नगरपालिका २ नम्बर वडा कार्यालयले जनाएको छ।