Breaking News

दोधारा चाँदनीमा ‘मंसिरे पूर्णिमा जात्रा’ सम्पन्न

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंसिरे पूर्णिमा जात्रा सम्पन्न भएको छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्पराअनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्ल पक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको मंसिरे पूर्णिमा जात्रा विभिन्न साँस्कृतिक कार्यक्रम सहित यस वर्ष पनि भव्यताको साथ सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका-७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ।

दोधारा चाँदनी नगरपालिकामा रहेको कमलशा बाबा मन्दिरमा गएर स्थानियबासीहरुले आफुले उत्पादन गरेको अन्न चढाएर वर्षभरी खान पुगोस् भन्ने प्राथना गरि मंसिरे पूर्णिमा पुजा आजा गरि जात्रा मनाउने पौराणिक परम्परा रहेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो। आफ्नो कला, संस्कृति तथा परम्परा प्रवर्द्धन तथा जर्गेना गर्न विगतका दिनहरू देखि स्थानियबासीहरुले निरन्तरता दिदैँ आएको उहाँको भनाई रहेको छ। कला, संस्कृति तथा परम्परालाई लोप हुन नदिन स्थानीय सरकारले समेत सघाउदै आएको उहाँले बताउनुभयो।

रातिको समयमा जात्राको आयोजना हुने र बिहान कमलशा बाबा मन्दिरमा पुजा पाठ गरि विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाउने चलन रहेको नेपाली काँग्रेस दोधारा चाँदनी नगर कार्य समिति सभापती राजेन्द्र मल्लले बताउनुभएको छ। जात्रामा विभिन्न भेषभुष पहिरन गरि नौमती बाजा, पञ्चे बाजा, क्रिकिटी नाच, मयुर नाच लगायत झाँकी प्रस्तुत गर्ने प्रचलन रहेको छ। आफ्नो मौलिक तथा धार्मिक संस्कार र संस्कृती झल्काउने गरि साँस्कृतिक कार्यक्रम सहित ‘मंसिरे पूर्णिमा जात्रा’ सम्पन्न भएको उहाँले बताउनुभयो। यस क्षेत्रमा जात्राको धार्मिक तथा साँस्कृतिक महत्त्व अत्यन्तै रहेको बताउँदै उहाँले ‘मंसिरे पूर्णिमा जात्रा’ लाई विभिन्न क्षेत्रमा बस्ने, विभिन्न जातजातीले आ-आफ्नो तरिकाले मनाउने प्रचालन देखिएको तर्क गर्नुभयो।

सनातन समाजमा यो पर्व परापूर्व कालदेखि मनाउँदै यो जात्रामा जनजातीहरुको पनि सहभागीता रहँदै आएको नेपाल जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका नगर सदस्य अमित पुन मगरले बताउनुभएको छ। विगतका दिनहरुका जात्रामा जनजाती नाँच प्रस्तुत गर्दै आएको भएपनि यसपटक देखि नौमती बाजा लिएर ‘मंसिरे पूर्णिमा जात्रा’ मा सहभागी भएको उहाँले बताउनुभयो।

धार्मिक गतिविधिहरुले संस्कृति संरक्षण र सामाजिक एकतालाई बढाउनुका साथै देशमा शिक्षा, सीप र कलाको विकासमा योगदान गर्नेमा वक्ताहरुले जोड दिएका छन्।

कार्यक्रममा नौमती बाजा, पञ्चे बाजा, क्रिकिटी नाच, मयुर नाच लगाएत झाँकीका सहभागीहरुलाई आयोजक संस्था कमलशा बजार व्यवस्थापन समितिले सम्मान समेत गरेको छ।

About Surendra Jairu

Check Also

दोधारामा सञ्चालनमा रहेको शहरी विकासका योजनाको मेयर लिम्बुद्वारा अनुगमन

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *