कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका घरधूरीहरूलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढीको उच्च जोखिममा रहेका सिमरी, रातोताल, दशरथबस्ति र विकासबस्तिका गरि १७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि आईएमई मार्फत नगद रू ५ हजार सहयोग गरेको हो। परियोजनाले पूर्वकार्यका लागि स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई विद्युतीय जेनेरेटर र प्लाष्टिकको बोरा सिलाउने विद्युतीय मेसिन पनि हस्तान्तरण गरेको छ।
एनएनएसडब्ल्यूए एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि शनिबारसम्म अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेकोले पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि नगद सहयोग गरिएको बताउनुभयो। उहाँले दोदा नदी आसपासका क्षेत्रहरूमा बाढी आउने सम्भावना उच्च रहेकाले संकटासन्न सिमरी, रातोताल, दशरथबस्ति र विकासबस्तिका १७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि आईएमई मार्फत नगद रू ५ हजार सहयोग गरिएको बताउनुभयो।
पूनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेका घरपरिवारहरूलाई पूर्वानुमानमा आधारित पूर्वाकार्यका लागि नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र मर्सिकोर नेपाललाई धन्यवाद दिनुभयो। उहाँले यो रकमले संकटासन्न घरधुरीहरूलाई खाद्य सामग्री, बालबालिका लागि कपडा, औषधी उपचारलगायत अन्य अत्यावश्यक कामहरूको जोहो गर्न सहज हुने बताउनुभयो।
पूर्वानुमानमा आधारित पूर्वकार्य एक निश्चित मौसम पूर्वानुमान र जोखिम विश्लेषणको आधारमा पूर्व सहमति अनुसारका पूर्वकार्य गर्ने एउटा तरिका हो। यसमा विस्तृत जोखिम तथा संकटासन्नता मूल्याकन र ऐतिहासिक घटना क्रमका आधारमा कुनै एउटा निश्चित स्थानको लागि जोखिमको तह निर्धारण गरिन्छ। एमरेड परियोजनाले खतराको तहमा पुग्नु अघि पूर्वसुचना दिन ट्रिगरको चयन गर्दछ र ट्रिगर अनुसार जोखिमको तह पुगेमा क्षति न्यूनिकरण गर्न वा यसको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले पूर्वानुमानीत संकट आउनुअघि गरिने कार्यहरू गर्दै आइरहेको छ।