Breaking News

बाढीको जोखिम रहेका बासिन्दालाई सुरक्षित स्थान साथै खानाको व्यवस्थापन गरिँदै

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। साथै उनिहरूको लागि खानाको व्यवस्थापन गरिँदै छ। बिहिबारदेखि परेको अविरल वर्षाका कारण महाकाली नदिको जलस्तर बढ्दै गएको र थप वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित बासिन्दाहरूलाई स्थानीय पालिका, वडा कार्यालय साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लगायतका संस्थाहरूको सहकार्यमा सुरक्षित स्थान साथै खानाको व्यवस्थापन गर्न लागिएको हो।

होचो ठाउँमा भएको स्थानहरू बाढीको जोखिममा पर्ने सम्भावना भएपछि आज बिहान दुवै पालिकाको नगर विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले बाढी तथा डुवानको उच्च जोखिममा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्ने र उनिहरूलाई खाना साथै अन्य व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले पूर्वसूचना अनुसार नै भारी वर्षा भईरहेको बताउनुभयो। उहाँले अझै पनि पानी पर्ने सम्भावना उच्च रहेकोले बाढीको जोखिममा रहेका बासिन्दाहरूलाई वडा कार्यालय, विद्यालयलगायतका सुरक्षित स्थानमा सर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले एनएनएसडब्ल्यूए लगायत अन्य संघसंस्थाहरूले सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत् सुरक्षित स्थानमा बसेका व्यक्तिहरूलाई खानाको व्यवस्थापन गर्ने बताउनुभयो।

नगर उपप्रमुख नीलम लेखक जोशीलेबाढी प्रभावितहरूको सुरक्षा र प्राथमिक स्वास्थ्य उपचारका लागि प्रत्येक सुरक्षित स्थानमा एक/एक जना नगर प्रहरी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत खटाउने निर्णय भएको बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले जल तथा मौसम विज्ञान विभागले २७ गतेदेखि २९ गतेसम्म कञ्चनपुर जिल्लामा ठूलो वर्षा हुने र महाकाली तटीय क्षेत्रका बस्ती डुवानमा पर्ने पूर्वसूचना जारी गरेको बताउनुभयो। उहाँले पूर्वसूचनामा आधारित प्रतिकार्यअन्तर्गत दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका डुवानमा परेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो। उहाँले तत्काल नगरपालिकासँग बैठक बसेर जोखिमयुक्त बासिन्दाहरूलाई विद्यालय र वडा कार्यालय लगायतका सुरक्षित स्थान सारिएको साथै नगरपालिका, एनएनएसडब्ल्यूए, सामुदायिक विपद् व्यवस्थापन समिति र युवा सञ्जालहरूको सहयोगमा खानाको व्यवस्थापन गरिएको बताउनुभयो। उहाँले अहिले पनि परिगाउँ जलमापन केन्द्रमा जलसतह खतरको स्तरभन्दा माथि रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो।

हालसम्म भीमदत्त नगरपालिका वडा नम्बर १२ विष्णु टोलका १८ परिवारका ६० जनालाई जनता आधारभूत विद्यालय, विष्णु टोलका ८ परिवारलाई भाईरल रोडमा त्रिपालमा साथै १२ नम्बर वडा कार्यालयमा १४ परिवारलाई सारिएको छ। त्यस्तै श्रीनारायण टोलका २ परिवारलाई भागरथी विद्यालयमा सारिएको छ। त्यसैगरी दोधारा चाँदनी नगरपालिका १० का बाढी प्रभावित ३१ परिवारका १०७ जनालाई ओमकार आधारभूत विद्यालयमा, अम्बिका माध्यमिक विद्यालयमा ७८ परिवारका २८६ जनालाई सारिएको छ। त्यस्तै वडा नम्बर ८ का ३० परिवारका ९५ जनालाई जनज्योती माध्यमिक विद्यालयमा सारिएको छ। पटराखल्ला र कुतियाकबरका जोखिमयुक्त बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ साथै जोखिमयुक्त समुदायलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको छ।

विपद् पूर्वतयारीका लागि दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा प्रभावमा आधारित मौसम पूर्वानुमान (आईबीएफ) तथा आईभीआर मेसेज प्रविधिद्वारा नियमित रूपमा पूर्वसूचनाहरू प्रवाह गरिँदै आएको छ।

About Surendra Jairu

Check Also

पुनर्वासमा बाढी प्रभावित २०० परिवारलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। सेव द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *