सितारगंज, 22 डिसेम्बर 2023
भारतको उत्तराखण्ड राज्यको सितारगंजमा कम्बल बेच्ने घुमन्ते नेपाली व्यपारीमाथि केही आपराधिक छविका व्यक्तिहरुले कुटपिट गरि सामान र नगद पैसा लुटेको घटना प्रकाशमा आएको छ ।
भारतीय संचार माध्यमका अनुसार दार्चुलाको कालीमन्दिरका नेपाली युवक प्रेमसिंह बोहरालाई डुलेर कम्बल बेच्ने क्रममा सितारगंजको साधुनगरमा केही अराजक तत्वले कुटपिट गरी घाइते बनाएका छन् । उनलाई बेहोस बनाएर उनिसँग भएको कम्बल र नगद समेत लुटेको आरोप छ ।
उनि दुई दिनअघि कम्बल बेच्न गाउँ गएको पीडितले बताएका छन । उनलाई साधुनगर नजिकै केही व्यक्तिले कुटपिट गरेका थिए । उनी बेहोस भए । जब उनी होशमा आए, उनको कम्बल र नगद लुटेराहरुले लुटेका थिए। उनी पैदलै हिडेर अर्को गाउँ पुगेपछि गाउँलेहरुले उनलाई बिहीबार साँझ सामुदायिक अस्पताल ल्याएका थिए । जहाँ सीएमएस डा अभिलाषा पाण्डेको नेतृत्वमा स्वास्थ्य विभागको टोलीले घाइतेको उपचार गरेको थियो । हात भाँचिएका कारण उनलाई हल्द्वानीको डा. सुशीला तिवारी अस्पताल लगिएको छ।