कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १५० परिवारलाई नगद सहयोग वितरण कार्य सुरू गरिएको हो। भीमदत्त नगरपालिकासँगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले प्रभावित घर परिवारलाई बहु-प्रयोजनका लागि आईएमई मार्फत प्रति परिवार रू १० हजार नगद सहयोग कार्य सुरू गरेको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले भीमदत्त नगरपालिका वडा नम्बर ३, ८, १०, ११, १२, १४, १५, १६ र १७ का १५० पूर्ण क्षति भएका परिवारलाई घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगायतका बहु-प्रयोजनामा सहयोग पुऱ्याउने उद्देश्यले नगद सहयोग गरिएको बताउनुभयो। उहाँले बाढी आएको ७२ घण्टा भित्र प्रभावितलाई सहायता प्रदान गरिसक्नु पर्ने भएपनि पालिकालाले बाढी पीडितको तथ्याङ्क दिनमा ढिलाई गरेकाले केही बिलम्ब भएको बताउनुभयो। उहाँले बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा राहत वितरण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।
भीमदत्त नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख मनोज प्रसाद भट्टले रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षापछि महाकाली नदिको बाढीबाट भीमदत्त नगरपालिका भरी झण्डै ४०० परिवार विस्तापित भएको बताउनुभयो। उहाँले एनएनएसडब्ल्यूए लगायतका संघसंस्थाहरूले जोखिमयुक्त समुदायमा बेलाबेलामा अग्रीम प्रतिकार्य तथा जनचेतनामुलक कार्यक्रमहरू संचालन गरेकाले मानविय क्षति हुनबाट जोगिएको बताउनुभयो। उहाँले भीमदत्तका ९ वटा वडाका १५० प्रभावित परिवारलाई एनएनएसडब्ल्यूएले आईएमई मार्फत प्रति परिवार रू १० हजार नगद सहयोग कार्य सुरू गरेको बताउनुभयो। बाँकी रहेका वडामा अन्य संघसंस्थाहरूले सहयोग गर्ने उहाँले बताउनुभयो। पूर्ण क्षति भएका प्रभावित परिवारको सत्यतथ्य विवरण संकलनमा केही ढिलाई भएको उहाँले बताउनुभयो।
भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा भीमदत्त नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश थापाले असार २४ र २५ गते अविरल वर्षासँगै आएको बाढीबाट पूर्ण क्षति भएका परिवारलाई राहत स्वरूप नगद सहयोग गरिएको बताउनुभयो। उहाँले आंशिक क्षति भएका परिवारलाई समेत सहयोग गर्ने गरि छलफल भइरहेको बताउनुभयो।
भीमदत्त नगरपालिकाका कार्यवाहक मेयर तथा वडा नम्बर १६ का वडा अध्यक्ष केशव सिंह विस्टले पूर्ण क्षति भएका परिवारलाई राहत स्वरूप नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र डीसीए नेपाललाई धन्यवाद दिनुभयो।
नगद प्राप्त गरेपछि बाढी प्रभावितले एनएनएसडब्ल्यूएले प्रदान गरेको नगद रू १० हजारले घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगायतका कार्यमा ठूलो राहत मिल्ने बताएका छन्।