कञ्चनपुरः कञ्चनपुरस्थित पश्चिमी सीमानाका गड्डाचौकीको सीमा स्तम्भ क्षेत्रमा सरसफाई तथा रङ्गरोगन साथै टोल फ्री नम्बर ११५५ र ११४९ प्रवर्धन गरिएको छ। सोमबार भीमदत्त नगरपालिका वडा नम्बर ११ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा गड्डाचौकीस्थित ७ नम्बर पिल्लर सीमा स्तम्भ क्षेत्रमा सरसफाई तथा रङ्गरोगन कार्यक्रम गरिएको हो।
भीमदत्त नगरपालिका वडा नम्बर-११ का वडाध्यक्ष प्रकाश थापाले गड्डाचौकीस्थित ७ नम्बर पिल्लर सीमा स्तम्भ क्षेत्रस्थित राष्ट्रिय झण्डा रहेको स्थानमा सरसफाई तथा रङ्गरोगन गरिएको बताउनुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले स्तम्भ क्षेत्रमा सरसफाई तथा रङ्गरोगन सँगै वर्षा र बाढीसम्बन्धी जानकारीका लागि नेपाल सरकारको आपतकालीन सेवा केन्द्रद्वारा प्रदान गरिएको टोल-फ्री नम्बर ११५५ र विपद्को समयमा उद्धार र आपतकालीन सेवाका लागि टोल-फ्री नम्बर ११४९ पनि प्रवर्धन गरिएको बताउनुभयो। उहाँले सार्वजनिक स्थानमा ११५५ र ११४९ सम्बन्धी जनचेतनाका लागि स्ट्रीकर टाँसिएको बताउँदै यसले समुदाय स्तरमा विपद्बारे पूर्वसूचना र प्रतिकार्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
गड्डाचौकी हेल्थ डेस्कका ईन्चार्ज विशाल भट्ट गड्डाचौकी सीमा स्तम्भ क्षेत्र भारतबाट आउने पर्यटकहरूले पाईला राख्ने पहिलो स्थान भएकाले त्यसलाई आकर्षक बनाउनका लागि सरसफाई तथा रङ्गरोगन गरिएको बताउनुभयो।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर ११ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माईती नेपाल, शान्ति पूनर्स्थापना केन्द्र, आफन्त नेपाल, थ्री एन्जल्स नेपाल र आसिश सामाजिक सेवा नेपालका प्रतिनिधि साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो।