Breaking News

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई

काठमाण्डौं, 3 अगस्त 2024

सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताउनु भयो । संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नुभयो । सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘अहिले देशका ठूलो पार्टीहरु एउटै सरकारमा बसिरहेका छौं । पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौं । नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔं । पटकपटक प्रयोगशालाहरु हुँदै आए । अब फेरि अर्को प्रयोगशाला नबनाऔं देशलाई । यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन । र, यी दुई वटा पार्टी इतिहासका निर्माता पनि हुन । इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरु पनि हुन । चाहे त्यो शान्ति प्रक्रियामा होस, चाहे त्यो संविधान निर्माणको बेलामा होस । चाहे अरु अन्य बेलामा होस । लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा होस । यस्ता ऐतिहासिक क्षणहरुमा हामी एक ठाउँमा आएका छौं । र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौं । फेरी एक पटक यी दुई वटा पार्टीले यसमा पहल लिएका छन । मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ । अर्थ तन्त्रलाई लयमा फर्काउनु छ । राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ । विदेशी मित्रहरुको विश्वास जितेर देश भित्र लगानीको वातावरण बनाउनु छ । आजको विश्व एउटा शक्ति राष्ट्रहरुको तानातानमा हामी देखिरहेका छौं । चाहे युक्रेनमा होस्, चाहे इजरायलको गाँजा क्षेत्रमा । मध्यपूर्वमा होस । अनि अरु अन्य ठाउँमा होस । त्यसका बाछिटाहरु नेपाल जस्ता सानो देशले भोग्नु नपरोस । सबै विश्वका मुलुकहरुसँग हामी एउटा राम्रो सम्बन्धमा साथ उहाँहरुको सहानुभुति र सहयोग नेपालमा प्राप्त गर्नसक्ने ढंगले हामी जाऔं । दुईटा छिमेकी मुलुकहरु उत्तर र दक्षिणतिर चीन र भारत छन । उहाँहरुको समृद्धिबाट नेपाललाई कसरी फाईदा लिन सकिन्छ ? उहाँहरुका तनावबाट नेपाल कसरी मुक्त हुन्छ ? उहाँहरुको समृद्धिबाट हामीले कसरी फाईदा लिन्छौं ? यीनै विषयलाई सहज ढंगले अघि बढाउननै यी दुई वटा पार्टी एक ठाउँमा आउनु परेको हो ऐतिहासिकता हो । संविधानमा केही कुराहरुलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ । यसको निम्ति नेपाली काँग्रेस र एमाले अग्रसरता लिएपनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरुलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ । विद्वानहरुले संविधानका बारेमा आफ्ना सुझावहरु हामीले प्राप्त गर्ने नै छौं । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्नेनै छ । यीनै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौ । ’
सचिव भट्टराईले सरकारले मुलुकमा वाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

About globalgorkhatimes.com

Check Also

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *